नेकपा एमालेका तेस्रो धार भनेर चिनिएका नेताहरुको यतिखेरको सबैभन्दा कठिन काम हो आफूमाथि लागेको ‘अवसरवादी’को ट्याग मेटाउनु। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल बिच झगडा चुलिनुमा यही धारका नेताको सबैभन्दा ठूलो भूमिका रह्यो। पार्टीमा लामो सहकार्यमा रहेका ओली र नेपाललाई नदीका दुई किनारा बनाउने उर्लँदो भेल नै बन्यो यो समूह।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा बल्झिएको किचलोमा यो समूहले खुलेर नेपाललाई साथ दियो। त्यसपछि अदालतले ब्युँताएको एमालेमा नेकपा कालकै झगडा दोहोरिँदा नेपालसँगै अगाडि बढिरहे। यहाँसम्म आइपुग्दा ओलीलाई ‘भष्मासुर’ र नेपाललाई ‘त्यागी नेता’को उपमा कसैले दियो भने, त्यो यही समूहका नेताहरु नै हुन्थे। ओली ‘कमरेड’ नभएको र ‘साइवर स्याल’को नाइके भएको टिप्पणी कुनै पनि बेला नेताहरुबाट उप्किरहन्थ्यो।
तर, विवाद चरम अवस्थमा पुगेर नसुल्टिने स्थिति बनिसकेपछि भने पार्टी मिलाउन भन्दै ओलीसँग नजिकिएका भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त, योगेश भट्टराई, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरा र भीम आचार्यले क्याम्प फेरे। नवौं महाधिवेशनमा नेपालको टिममा रहेका यी नेताहरु अहिले ओलीतिर बिलिन भएका छन्। क्याम्प फेर्नु अघि १० नेताको भूमिका सन्तुलित भने कहिल्यै थिएन। किनकि ओलीलाई सत्ताबाट र नेपाललाई पार्टीबाट हटाउनुमा उनीहरु नै सबैभन्दा धेरै निर्णायक देखिए।
पद र शक्तिका लागि ओलीतिर नलागेको पटकपटक दाबी गरे पनि दोस्रो तहका यी नेताहरु एकाएक ओलीप्रति नरम देखिए। नरम देखिँदा केहीले पद पनि पाए। अष्टलक्ष्मी शाक्य र भीम आचार्य मुख्यमन्त्री नै भइसके भने केहीको भागमा आश्वासन छँदैछ।
ओलीलाई पछार्ने, नेपाललाई उचाल्ने
माधवकुमार नेपाल पक्षले गएको चैत ४ र ५ गते सानेपामा राष्ट्रिय भेला आयोजना गर्यो। भेलामा सम्बोधन गर्ने मध्यमा सबैभन्दा चर्को भाषण गर्ने कोही थियो भने यिनै १० जना नेताभित्रकै अधिकांश। भेला सञ्चालन गरेका सुरेन्द्र पाण्डेले माधव नेपालका अघि त्यतिबेला उद्घोष गरेका थिए- ‘हामी एउटै डुङ्गामा छौं। डुबे पनि सँगै डुब्छौं।’
उनले कार्यकर्तालाई उचाल्न बेलाबेलामा चिनियाँ क्रान्तिको उदाहरण दिइरहन्थे। सँगै डुब्ने उद्घोष गरेका पाण्डे डुङ्गामा प्वाल पर्न थालेसँगै त्यहाँबाट उम्किए। त्यतिबेला भेलाले समानान्तर गतिविधिलाई गाउँसम्मै पुर्याउने निर्णय गरेको थियो।
त्यसयता उनी लगायतका नेता लगातार नेपालकै साथमा रहे। ओलीले दोस्रोपटक जेठ ८ मा प्रतिनिधिसभा विघटन गर्दा पनि अग्र मोर्चामा रहेर ओलीको आलोचना गरे उनीहरुले। ओली सत्ताबाट नहटेसम्म लोकतन्त्रमाथि खतरा भइरहन्छ भन्ने बलियो मत राख्नेमा यिनै दोस्रो तहका नेता हावी थिए। ओलीलाई सत्ताबाट हटाउन उनीहरुको भूमिका कहाँसम्म रह्यो भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै राष्ट्रपति विदेयादेवी भण्डारीकहाँ जेठ ७ गते नेपाल पक्षका २६ जनाले नेताले हस्ताक्षर गर्दा उनीहरु पनि छुटेनन्।
राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त नगरेर ओलीले गरेको प्रतिनिधिसभा विघटनको सिफारिसलाई सदर गरेपछि यी १० जना नेताको अगुवाइमै नेपाल पक्ष अदालत पुगेको थियो। त्यस बेला उनीहरुको एउटै तर्क थियो – प्रतिनिधिसभा पूर्ण कार्यकाल चलाउन जस्तोसुकै निर्णयका लागि तयार छौं।
सांसदहरु अदालतमा लाइन लागेर मुद्दा दर्ता गरेपछि अदालतले दोस्रोपटक पनि प्रतिनिधिसभा पुनर्स्थापना गरेको थियो। देउवालाई प्रधानमन्त्री बनाउँदा लाजगालले केही नेता मौन रहे यही समूहका। त्यो मौनता देउवालाई प्रधानमन्त्री बनाउनका लागि काफी थियो भने केपी ओलीलाई सक्काउनका लागि अचुक अस्त्र। ओलीले जारी गरेको ह्वीप उल्लंघन गरेर ओलीले वैशाख २७ मा र देउवाले साउन २ मा लिएको विश्वासको मतमा उनीहरु अनुपस्थित रहे। यस्तो कठोर कदम ओलीको विरुद्धको निर्णय थियो भने देउवा र नेपाललाई मौन सहयोग।
एमाले विवादका बेला नेता नेपालले सबैभन्दा विश्वासिलो पात्रका रुपमा भीम रावललाई अघि सारेका थिए। कहाँसम्म भने ओलीले रावल सहितका नेतालाई पार्टीमा अनुशासनको कारवाही गर्दा नेता नेपालले ओलीसँग वार्ता गर्नै इन्कार गरेका थिए। रावल लगायतका नेताहरुलाई कारवाही फुकुवा गरेमात्रै संवाद हुने नेता नेपालको लागतारको अडानपछि ओलीले त्यो कारवाही फुकुवा गरेका थिए। यतिसम्म कि ओलीसँगको एक्ला-एक्लै वार्तापछि गठन भएको कार्यदलको नेतृत्वमा पनि आफ्नो तर्फबाट नेपालले रावललाई जिम्मेवारी दिए। तिनै रावल अहिले नेपालसँग छैनन्। कार्यदलले असार २७ मा १० बुँदे सहमति गरेको र उक्त सहमतिलाई नेपालले लत्याएको भन्दै रावल नेपालसँग असन्तुष्ट भएका थिए। कार्यदलको सहमतिमा नेता नेपाल सहमत नभए पनि कार्यदलका नेताहरुले १० बुँदेलाई अघि बढाएका थिए। जसलाई नेता नेपालले आफू निकटसँग धोका भएको संज्ञा दिए।
१० बुँदे सहमति अघि नै यो समूहका नेता ओलीसँग फरक हिसाबले संवादमा जुटिसकेका थिए जसको नेपाललाई पत्तो थिएन। तर, जब नेपालले दोस्रो तहका नेताको रणनीति बुझे उनले उनीहरुलाई बाइपास गरेर केन्द्रीय सदस्य र आफ्नो साथमा रहेका सांसदहरुसँग मात्रै संवाद अगाडि बढाउन सुरु गरे।
१० बुँदे सहमतिलाई स्वीकार्न दोस्रो तहका नेताहरुको लगातारको दवावलाई नेता नेपालले ठाडै अस्वीकार गरेका थिए। यद्यपि, एमाले सचिव योगश भट्टराईले नेपालकै सहमतिमा १० बुँदे तयार भएको दाबी गर्दै आएका छन्।
‘भीम रावल कमरेडले फ्रिह्याण्ड गरेर नेपाललाई १० बुँदे पढेर सुनाउनुभएको थियो। घनश्याम भुसालले मस्यौदा बोकेर उहाँको घरमै पनि पुर्याउनु भएको थियो। अहिले कतिपय साथीहरुलाई माधव कमरेडको सहमतिबिनै १० बुँदे भएको थियो कि भन्ने लागेको छ। तर, एकएक अक्षर उहाँलाई देखाएरै सहमति भएको हो,’ उनले भनेका छन्।
नेता नेपालले आफूलाई धोका दिएको बताइरहँदा दोस्रो तहका नेताहरु भने त्यसलाई स्वीकार्न तयार छैनन्। उनीहरुले एमाले विभाजनको विषयमा आफू सहमत हुन नसकेको तर्क गरेका छन्। सुरेन्द्र पाण्डेले ओली १० बुँदे कार्यान्वयन गर्न तयार भएपछि विभाजनको अर्थ नभएको बताए।
‘अध्यक्ष १० बुँदे कार्यान्वन गर्न तयार हुनु भयो। हामीले १० बुँदेको कार्यान्वयन खोजेका थियौं। धोका दिएका होइनौं एमाले विभाजनमा सहमत हुन नसकेको हो,’ उनले भने।
ओलीलाई साथ दिएका भन्दा पनि आफ्ना असन्तुष्टिलाई पार्टी कमिटीको बैठकमै राख्न एमालेमै सक्रिय भएको नेताहरुको मत छ। पहिलोपोस्ट सँगको कुराकानीमा हाल वागमती प्रदेशकी मुख्यमन्त्री रहेकी नेतृ अष्टक्ष्मी शाक्यले ओलीले एमाले भित्रको क्रान्तिकारी धारको सामना गर्नुपर्ने बताएकी थिइन्। नेपाल समूहलाई छाडेपछि शाक्य वागमती प्रदेशको मुख्यमन्त्री बनेकी हुन्। ओली-नेपाल दुवैको सल्लाहमा आफू मुख्यमन्त्री बनेको शाक्यले बताउँदै आएकी छिन्। माधव नेपालले पनि शाक्य आफ्नै सहमतिमा मुख्यमन्त्री बनेको तर अहिले उनी अप्ठेरो अवस्थामा रहेको बताएका छन्।
नेपाललाई साथ नदिएका नेताहरुले एमाले फुटाउने पक्षमा सहमत हुन नसक्दा साथ छोड्नुपरेको बताइरहेका छन्। तर, राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भने यसलाई राजनीतिक धोकाको संज्ञा दिन्छन्। उनले नेपाललाई साथ नदिएका नेताहरुले मूल्य मान्यताको राजनीति छोडेको तर्क गरे। नैतिकताको राजनीति भन्दा पनि चुनाव केन्द्रित राजनीति हुँदा ओलीलाई उनीहरुले रोज्न पुगेको श्रेष्ठको मत छ।
‘विचार, सिद्धान्त र नैतिकताको राजनीतिभन्दा पनि चुनावको राजनीति हावी भयो। उहाँहरु विचार सिद्धान्तको हिसाबले त जानु भएको होइन। ओलीसँग त विचार फिटिक्कै मिल्दैन,’ श्रेष्ठको विश्लेषण छ।
नैतिकताको कसीमा ओलीभन्दा नेपाललाई अब्बल मान्छन् श्रेष्ठ। अहिलेका नेताहरु मध्ये सबैभन्दा सरल जीवन ज्युने मध्येमा माधव नेपाल रहेको र उनीसँग लाग्दा चुनाव हार्ने डर भएकाले दोस्रो तहका नेताहरुले साथ छोडेको श्रेष्ठको तर्क छ। ‘नैतिक बल पनि ओलीको भन्दा नेपालमा निकै धेरै छ। अहिले एमाले नेताहरुमा सबैभन्दा सरल जीवन जिउने पनि माधव नेपाल नै हुन्। तर पनि उनीहरुले छाडे। उनीहरुमा विचार र सिद्धान्त नैतिक देखिएन। त्यसैले उनीहरुले माधव नेपाललाई धोका दिए,’ श्रेष्ठले भने।
अर्का राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमको घनश्याम भुसाल लगायतका नेताहरु ओली पक्षमा धेरै समय नटिक्ने आँकलन छ। एमालेमा नेपाल समूहमा रहेर अहिले ओलीतिर लागेका नेताहरुलाई पार्टीभित्र समायोजन हुन मुस्किल हुने उनको टिप्पणी छ।
‘एमालेमा समायोजन मुस्किल हुन्छ। उहाँहरु केपी ओलीसँग त लोयल हुनुहुन्न। केपी ओलीसँग रहेको जुन ठूलो फ्र्याक्सन रहेको थियो, इश्वर पोखरेल लगायतको। त्यो त ओली प्रति लोयल हो नि। घनश्याम भुसालहरु त्यहीँ मिसिन जानुभयो,’ उनले भने।
नेपाललाई छोडेर गएका नेताहरु एमालेभित्र अपमानित हुने गौतमको बुझाई छ। निर्वाचनसम्मका लागि मात्रै नेपाल निकट नेताहरु ओलीतिर लागेको हुनसक्ने उनले बताए। फेरि पनि एमालेबाट भुसाल लगायतका नेताहरु अलग हुनसक्ने गौतमको बुझाइ छ। ‘उहाँहरु त्यहाँ भित्र अपमानित हुनसक्ने सम्भावना छ। त्यसैले त्यहाँबाट छुट्टिने सम्भावना देख्छु। मात्र अहिले केही मानिसहरुको संसद सदस्यता बचाउनका लागि यो ‘इक्वेसन’ भएको हो,’ गौतमले भने।
नेता नेपालमा रहेका दोस्रो तहका नेताहरु आफ्नो पक्षमा तान्न ओलीले भने ठूलै कसरत गर्नुपरेको थियो। नपरोस् पनि किन? वैचारिक हिसाबले राम्रा भनिएका नेताहरु माधव नेपाल समूहमा थिए जो ओलीप्रति आक्रमक पनि उत्तिकै। वैशाख यता लगातर दोस्रो तहका नेताहरुको संवादमा रहेका ओलीले पछिल्लो अवधिमा माधवकुमार नेपालको मात्रै आलोचना गर्न थालेका थिए।
असार ३१ गते बालुवाटारबाट बालकोट जाँदा आफ्नो निवासको बार्दलीबाट ओलीले नेपाललाई ‘गद्दार’घोषणा गर्दै उनलाई एमालेमा ठाउँ नभएको बताएका थिए। तर, अरु नेताहरुलाई भने आफूले एमालेमा स्वागत गर्ने सुनाएका थिए।
नेपालमुक्त एमाले बनाउने ओलीले उद्घोष एक हिसाबले सफल पनि भएको छ। आफू पक्षका दोस्रो तहका नेताहरुलाई नेपाल बाहेकलाई मात्र एमालेमा फर्काउन ओलीले निर्देशन दिएका थिए। एमालेका सचिव प्रदीप ज्ञवालीले नेता नेपालले अलग बाटो तय गरेकाले उनीसँग एकताको सम्भावन सुरुदेखि नै कम भएको बताउनुको राज यही थियो। उनले नेपाल बाहेक एकता चाहने नेताहरुसँग बढी सवांद भएको बताए।
‘माधव कमरेडले बाटो नै अलग तय गरेपछि धेरै टिप्पणी गरिरहन उचित हुँदैन। उहाँसँग तत्काल सहकार्यको सम्भावना पनि छैन। समयक्रममा एकता सहकार्य भन्ने कुरा हुनसक्ला,’ उनले भने। मंगलवार नेपाल पक्षमा लागेका नेताहरुलाई पार्टीमा फर्कँन एमालेले औपचारिक रुपमा आह्वान गरेको थियो।
ओलीको उक्त रणनीतिअनुसार नै नेपाल पक्षमा रहेका दोस्रो तहका नेता ओलीसँग छन् भने नेपालले नेकपा एकीकृत समाजवादी बनाएका छन्। आफूले उपयुक्त समयमा नेतृत्व हस्तान्तरण गर्ने भन्दै ओलीले एमालेमा तत्कालका लागि कुनै गुट नभएको बुधवारको पत्रकार सम्मेलनमा बताएका छन्। उनको भनाई कहिलेसम्मका लागि सत्य सावित हुन्छ? त्यो समयले नै बताउनेछ।