काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले आगामी संसद निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन्। पछिल्लो केही हप्तादेखि सरोकारवालासँग प्रत्यक्ष संवाद, सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण तथा विशेषगरी Gen-Z पुस्तासँग खुला छलफलपछि यो निर्णयमा पुगेको तामाङले बताइन्। ती छलफलबाट आएका सकारात्मक तथा आलोचनात्मक सुझावलाई समान रूपमा सम्मान गर्दै दलगत राजनीतिभन्दा माथि उठेर अघि बढ्ने निर्णय गरिएको उनको भनाइ छ। “Gen-Z ले उठाइरहेका आवाज, मुद्दा र परिवर्तनको चाहनालाई अब सडकदेखि सदनसम्म सशक्त रूपमा प्रतिनिधित्व गर्न आवश्यक छ,” तामाङले भनिन्। उनका अनुसार यो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानप्रतिको प्रतिबद्धताबाट प्रेरित छ। युवाहरूको सपना, भविष्य र देशको समग्र हितका लागि दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरिन्। उनले सबैको सुझाव, समर्थन र आलोचनालाई स्वीकार गर्दै स्वच्छ र सचेत राजनीतितर्फ सहकार्यको अपेक्षा गरेकी छन्।
ट्रेनडिंग