काठमाडौं २० कात्तिक भदौ २३ र २४ गते भएको जेन–जेड आन्दोलनका घटनाबारे छानबिन गर्न गठित आयोग नेपाल प्रहरीले अपेक्षित सहयोग नगरेको भन्दै असन्तुष्ट भएको छ। आयोगका पदाधिकारीहरूका अनुसार प्रहरी महानिरीक्षकको सचिवालयले सो दिन विभिन्न स्थानमा खटिएका प्रहरी कर्मचारीहरूको नामावली बुझाउन आनाकानी गरेको थियो। आयोगले बारम्बार पत्राचार गर्दा पनि विवरण नआएपछि ‘मानहानी’ मुद्दा दायर गर्ने चेतावनी दिएको थियो। त्यसपछि मात्रै महानिरीक्षकको सचिवालयले उपत्यका प्रहरी कार्यालयलाई खटिएका कर्मचारीको सूची पठाउन आदेश दिएको आयोग स्रोतले जनाएको छ। आयोगका प्रवक्ता तथा पूर्व एआईजी विज्ञानराज शर्माले प्रहरीलाई सचेत गराइएको पुष्टि गर्दै, “उनीहरूले नाम संकलन भइरहेको बताएका छन्, तर हामीले अझै पाएका छैनौं,” भने। आयोगले घटनाका दिन फिल्डमा खटिएका सबै कमाण्डर र जिम्मेवार अधिकारीहरूको पहिचान गरिसकेको र उनीहरूका बयान चाँडै सुरु हुने बताएको छ। प्रहरी नेतृत्वले विवरण दिन ढिलाइ गरेको कारण आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङमाथि समेत निगरानी बढाएको स्रोतले जनाएको छ। खापुङ २६ गते मध्यरात सेवा निवृत्त हुँदैछन्, र आयोगले उनको राहदानी रोक्का गर्ने तयारी समेत गरिरहेको बताइएको छ।
ट्रेनडिंग