अल्बानियाको राजधानी तिरानामा रहेको पुनरावेदन अदालतमा सोमबार एक व्यक्तिले सुनुवाइको क्रममा गोली चलाउँदा न्यायाधीश एस्ट्रिट कालाजाको मृत्यु भएको छ। प्रहरीले गोली चलाउने व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार गोली लागेर घाइते भएका न्यायाधीशलाई अस्पताल पुर्याइए पनि बाटोमै उनको मृत्यु भएको थियो। घटनामा मुद्दाको अर्को पक्षका बाबुछोरा समेत घाइते भएका छन् र उनीहरूको अवस्था स्थिर रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार गोली चलाउने व्यक्ति सम्पत्तिको विवादसँग सम्बन्धित मुद्दामा संलग्न थिए र मुद्दा हार्ने निश्चित भएपछि उनले आक्रोशमा गोली प्रहार गरेका थिए। प्रधानमन्त्री एडी रामाले घटनालाई ‘दुःखद र अस्वीकार्य’ भन्दै बन्दुकसम्बन्धी अपराधका लागि कडा कानुनी सजाय गरिने बताएका छन्। त्यस्तै राष्ट्रपति बजराम बेगजले अदालतभित्र भएको आक्रमणलाई “सम्पूर्ण न्याय प्रणालीमाथि भयानक आक्रमण” भनेर निन्दा गरेका छन्। अल्बानियाली कानुन अनुसार अवैध रूपमा बन्दुक राख्ने व्यक्तिलाई तीन वर्षसम्म जेल सजायको व्यवस्था छ। प्रहरीले यस घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।
ट्रेनडिंग