Nepal Jana Khabar
हरेक जनताको खबर
१२ श्रावण २०८२, आईतवार
ट्रेनडिंग

सुन्तलाको दाना झर्न थालेपछि कृषक चिन्तित

पाक्ने बेला भएको सुन्तलाको दाना झर्न थालेपछि यहाँका कृषक चिन्तित भएका छन्

पाक्ने बेला भएको सुन्तलाको दाना झर्न थालेपछि यहाँका कृषक चिन्तित भएका छन् । दानाभित्र औशा परेर सुन्तला झर्न थालेको हो । बेनी नगरपालिका–३ मरेकका इन्द्रबहादुर थापाले पाक्नै लागेको सुन्तलाको दानाभित्र किरा (औसा) परेर धमाधम झर्न थालेको बताउनुभयो । “गत वर्ष रु एक लाखको सुन्तला बेचेको थिए । यसपालि रु ७० हजारको पनि उत्पादन नहुने अवस्था छ”, उहाँले भन्नुभयो, “फल दिने नयाँ बोट थपिए पनि यसपालि गाउँभरि सुन्तला उत्पादन घटेको छ । करिब तीस प्रतिशत दाना झरिसक्यो ।”

गत वर्ष रु एक लाख ५० हजारको सुन्तला बेचेका मालिका गाउँपालिका–७ बिमको लुरबाङका कृष्ण सापकोटाको २०० बोट भएको बगैँचामा झरेको सुन्तला भुइँभरि छ । “झरेको सुन्तला दिनभरि सङ्कलन ग¥यो, फेरि भोलिपल्ट उस्तै हुन्छ”, उहाँले भन्नुभयो, “पाक्ने बेलामा सुन्तला बजार पठाउन नपाउँदै झरेर सकिन थाल्यो ।”

मरेकका थापा र लुरबाङका सापकोटाको मात्र नभएर जिल्लाका अधिकांश बगैँचाका सुन्तला झर्ने समस्या देखिएको छ । सुन्तलाको बोट सुक्ने र दाना झर्ने समस्या देखिएको बेनी –३ राखुका खिमबहादुर पुनले बताउनुभयो । कात्तिकको अन्तिम हप्तादेखि सुन्तलाको दाना झर्ने समस्या देखिएको कृषकले बताएका छन् । जिल्लाको मुख्य निर्यातयोग्य कृषिउपज सुन्तला हो । सुन्तला खेतीबाट जीविकोपार्जन र आम्दानी गर्दै आएका कृषक चाइनिज सिट्रोस फ्रुट फलाइ (दाना झर्ने) र सिट्रोस ग्रिन कारण चिन्तित भएका छन् ।

चार वर्षअघि नेपालमा भित्रिएको चाइनिज सिट्रोस फ्रुट फलाई किरा यसपालि यहाँको सुन्तला खेतीमा प्रमुख समस्याका रुपमा देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले जानकारी दिनुभयो । “सुन्तला जातका फलफूलको दानाभित्र पसेको औसाले असोजदेखि पुस महिनासम्म पहेलो बनाई दाना प्वाल पारेर अथवा दानालाई आफूसँगै भुइँमा खसाल्छ”, उहाँले भन्नुभयो, “कृषकलाई झरेका दाना व्यवस्थापन गर्न सिकाउने र आगामी वर्ष समस्या आउन नदिन प्रोटिन भेट वितरण गर्ने योजनामा छौँ ।”

यो पनि पढनुस !!

भुइँमा खसेको औसालाई प्लास्टिकको बोरामा हावा नछिर्ने बनाएर राख्ने, पानीको पोखरीमा डुबाउने, गाईबस्तुलाई खुवाउने र डेढ फिटभन्दा बढी गहिरो खाडल खनेर व्यवस्थापन गर्नुपर्ने कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । जेठ असारमा दानाभित्र पस्ने औसा चिसो मौसममा जमिनभित्र बस्छ । आगामी वर्ष यस्तो समस्या हुन नदिन झरेको दाना व्यवस्थापन गर्ने र चैत वैशाख महिनामा प्रोट्रिनबेटसँगै विषादी मिसाएर बोटमा छर्कनुपर्ने पाण्डेले बताउनुभयो । यसैगरी सुन्तलाको रुख र हाँगाभित्र गबारो छिरेर खाएपछि बोट पहेलो भएर सुक्ने समस्या देखिएको हो ।

रुख सुक्ने समस्या समाधानका लागि बगँैचा व्यवस्थापन र सुकेका हाँगा काँटछाँट गर्न कृषि प्रसार अधिकृत पाण्डेको सुझाव छ । फल टिपेपछि मलजल, गोडमेलसँगै बोडेपेष्ट लगाउने र स्प्रे गर्न आग्रह गर्नुभयो । म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवति, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दा बढी सुन्तला बगँैचा छन् ।

सात सय छ हेक्टरमा सुन्तला खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । तीन सय ३५ हेक्टरमा लगाएको बोटले उत्पादन दिन्छ । गत वर्ष दुई हजार ४१२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यहाँको सुन्तला पोखरा, चितवन, बुटवल र काठमाडौँमा निकासी हुन्छ । याम सुरु भएसँगै व्यापारी सम्पर्कमा आएका बास्कुनाका कृषक तिलक गुरुङले बताउनुभयो । गत असारमा दाना झार्ने औसा मार्ने प्रोटिन भेट ल्याए पनि कृषकले चासो नदिँदा यसपालि पनि समस्या देखिएको उहाँले बताउनुभयो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.