सुदूरपश्चिम क्षेत्रका हिन्दू धर्मावलम्बीहरुले प्रत्येक वर्ष भाद्र पष्ठीको दिनदेखि भाद्र अष्टमीका दिनसम्म यो पर्व धुमधामका साथ सुदूरपश्चिम क्षेत्रका व्यक्तिहरुले मनाउने गर्दछन्।
पौराणिक कथनअनुसार पार्वतीले शिवदेव प्राप्त गर्नका लागि निराहार वर्त बसी कठोर तपस्या गरेको र लामो समयपछि पार्वतीले शिवलाई पतिको रूपमा प्राप्त गरेको धार्मिक मान्यतालाई आत्मासात् गर्दै पार्वतीलाई गौरी देवीको रुपमा मनाइने पर्व भएकाले यस पर्वलाई गौरापर्व भनिएको हो।
विशेषगरी गौरा पर्व नेपालको सुदुरपश्चिम क्षेत्र र भारतको कुमाउँ, गढवाल गरी दुई देशका व्यक्तिहरूले यस पर्व धुमधामको साथ प्रत्येक वर्ष मनाउने गरेको पाइन्छ । यस पर्व आफैंमा धार्मिक सद्भाव र सामुहिक एकताको पर्व भएकाले यसको आफ्नै महत्व रहेको छ।

विशेषगरी यस पर्वमा ५ फरक प्रकारका गेडागुडीहरुलाई गौरा पर्वको प्रारम्भमा तामाको भाँडामा बिरूडालाई भिजाएर राखिने गरिन्छ । मकै,चना,केराउ,गहत,गहुँ लगायतका पाँच अन्नलाई मिश्रण गरेर भिजाएको बिरूडालाई अक्षता र प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ। विवाहित महिलाले धान,साउ,अपामार्ग लगायतका बिरुवाबाट गौराको मुर्ति बनाई प्रतिस्थापन गरी भब्यरुपमा पूजाअर्चना गरिन्छ।
शिव र गौरीको पूजाआजा गर्दा सुख शान्ती प्राप्त हुनुका साथै कुलदेवता प्रसन्न हुने धार्मिक विश्वासमा आस्था राख्ने सुदूरपश्चिम क्षेत्रका व्यक्तिहरु गौरा पर्वलाई चाँचरी,देउडा,धमाई खेल खेलेर मनाउने गर्दछन्। प्रत्येक वर्ष सुदूरपश्चिमका व्यक्तिहरूले गौरा पर्व मनाइरहँदा नेपाल सरकारले त्यस क्षेत्रका व्यक्तिलाई सार्वजनिक विदा दिएको छ। यसैगरी भाद्र पष्ठीको दिनदेखि यसवर्ष गौरा पर्वको प्रारम्भ भएको छ। विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सुदूरपश्चिमका व्यक्तिहरूले गौरा पर्व स्वास्थ्य सावधानी अपनाउदै धुमधामका साथ मनाइरहेका छन्।प्रकाश कपाली (सह-सम्पादक)