नक्कली नोट छाप्ने तथा कारोबारमा संलग्न रहेको अभियोगमा जिल्ला प्रहरी परिसर काठमाडौंले बाराका दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२ कबलपुरका ४२ वर्षीय गौरीशंकर यादव र बाराको फेटा गाउँपालिका–३ घर भई हाल भारतको मोतिहारी लाला टोल, पतौना बस्दै आएका २८ वर्षीय सबि कुमार श्रीवास्तव रहेका छन्। प्रहरीका अनुसार नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा गत पौष १६ गते काठमाडौं महानगरपालिका गोकर्णेश्वर–८ उत्तरढोका चोकबाट एक हजार दरका ९३ थान नक्कली नोटसहित ६ जनालाई नियन्त्रणमा लिई ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा उक्त घटनामा यादवको संलग्नता देखिएपछि सोधपुछ गर्दा श्रीवास्तवले नक्कली नोट छाप्ने काम गर्ने र पौष २० गते नक्कली नोट छाप्न प्रयोग हुने सामग्री नेपाल ल्याउने जानकारी दिएको प्रहरीको भनाइ छ। उक्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बारासँग समन्वय गरी जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त बौद्धको टोलीले बीआर ०५ एएफ २५११ नम्बरको भारतीय बुलेट मोटरसाइकलमा नक्कली नोट छाप्ने मेसिन तथा उपकरण काठमाडौं ल्याउँदै गरेको अवस्थामा श्रीवास्तवलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। प्रहरीले उनीहरूको साथबाट भारतीय ५०० दरका ३१७ थान नक्कली नोट, कम्प्युटर, मोनिटर, किबोर्ड, माउस, केबल तार १० थान, मोबाइल फोन, कलर प्रिन्टर, सीपीयू, ‘एम अडियो’ लेखिएको बक्स, टोनर ८ थान, नक्कली पेस्तोल, लालिगुराँसको वाटरमार्क छापिएको ‘१०००’ लेखिएको कागज १८० थान तथा सादा कागज ७५ थान गरी कुल २५५ थान कागज बरामद गरेको जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ट्रेनडिंग