Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

मेलम्ची क्षेत्रमा तत्काल चार वटा यान्त्रिक पुल निर्माण गर्ने सरकारको निर्णय, सेनालाई दिइयो जिम्मा

सरकारले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा तत्काल चार वटा यान्त्रिक पुल निर्माण गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार अपरान्ह सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रको जनजीवनलाई सहज बनाउने गरी बाढी ग्रस्त मेलम्ची क्षेत्रमा तत्काल ४ वटा यान्त्रिक पुल निर्माण गर्ने निर्णय गरेको हो ।

त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने जिम्मेवारी प्राधिकरणलाई दिइएको छ भने सो पुलको निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई दिइएको प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले जानकारी दिए । उनले भने, ‘हजारौ हजार बिस्तापित मेलम्ची क्षेत्रको जनताको जनजीवनलाई सहज बनाउनका लागि चार वटा यान्त्रिक पुल तत्काल निर्माण गर्ने निर्णय गरिएको छ । त्यसका लागि आर्थिक संयोजन प्राधिकरण आफैले गर्ने र नेपाली सेनाले सो पुलको निर्माण गर्नेछ ।’

बैठकले बाढी र पहिरोको चपेटामा परेका मनाङ, गोरखा र बाजुरालगायतका ठाउँहरुमा खाद्यान्न र अस्थायी आवासको आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । खाद्यन्न, अस्थायी आवास, औषधिलगायतका अत्यावश्यक सेवाहरु हेलिकप्टरमार्फत तत्काल ती क्षेत्रहरुमा लैजाने काम पनि बुधबार (भोली) बिहानैबाट सुरु गर्ने निर्णय गरिएको प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए ।
बैठकमा प्रधानमन्त्री एवम् प्राधिकरणका अध्यक्ष देउवाले बाढी, पहिरोलगायतका विपद्को पूर्व तयारी र प्रतिकार्यका लागि प्रभावकारी ढंगले काम गर्न सम्बन्धित सबै निकायलाई सचेत गराएका थिए ।

त्यस अवसरमा प्राधिकरणका पदाधिकारीहरुले बाढी, पहिरो र डुबानबाट देशका विभिन्न भागमा भएको जनधनको क्षतिबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।

 

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.