गोरखा, ५ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) उम्मेदवार रहेका गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा गोरखा नगरपालिकाको ८-१४ नम्बर वडासहित ४ वटा स्थानीयतह समेटिएका छन् । जसमा पालुङ्गटार नगरपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र वारपाक-सुलिकोट गाउँपालिका रहेका छन् । गत स्थानीय तह निर्वाचनमा सिरानचोक गाउँपालिका बाहेक सबै स्थानीय तहमा माओवादी केन्द्रले जितेको छ भने सिरानचोक पनि सत्ता गठबन्धनकै नेपाली कांग्रेसले जितेको छ।
गोरखा-२ का पालिका प्रमुखले पाएको मतपरिणाम हेर्दा माओवादी केन्द्र अगाडि देखिन्छ । ४ वटा स्थानीयतहमा गत स्थानीयतहको मत परिणाम हेर्दा माओवादी केन्द्र पहिलो, नेपाली कांग्रेस दोस्रो, तत्कालिन जनता समाजवादी तेस्रो र नेकपा एमाले चौथो स्थानमा रहेको देखिन्छ ।
जसमा माओवादी केन्द्रको २३ हजार ३ सय ५२ मत, कांग्रेसले २२ हजार ८ सय ४४ मत, समाजवादीले ७ हजार ९ सय १३ र एमालेले ५ हजार ३ सय ४९ मत प्राप्त गरेका छन्। यस मतपरिणाममा पालिका अध्यक्षले प्राप्त गरेको मतपरिणाम र गोरखा नगरपालिकाको वडा नम्बर ८ देखि १४ सम्मको दलका वडा अध्यक्षले प्राप्त गरेको मत जोडिएको छ।
यसरी हेर्दा सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस र नेपाल समाजवादी पार्टीको मत जोड्दा प्रचण्डको पक्षमा ५४ हजार १ सय ९ मत रहेको छ। उता नेकपा एमालेले उक्त क्षेत्रमा ५ हजार ३ सय ४९ प्राप्त मत प्राप्त गरेको छ।
गोरखाको क्षेत्र नम्बर २ मा मङ्सिर ४ मा मत हाल्न योग्य मतदाताको कुल सङ्ख्या १ लाख ५ हजार २ सय ४० रहेको निर्वाचन कार्यालय गोरखाले जनाएको छ।