Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

माओवादीलाई पुनः क्रान्तिकारी बनाएरै छाड्ने अध्यक्ष प्रचण्डको दृढता

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र व्यवहारमा क्रान्तिकारी बनाउने दृढता व्यक्त गर्नुभएको छ

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र व्यवहारमा क्रान्तिकारी बनाउने दृढता व्यक्त गर्नुभएको छ । पछिल्ला दिनमा माओवादीप्रति जनताको आकर्षण थप बढेको उल्लेख गर्दै उहाँले विगतमा रहेको अलमलसमेत सकिएको र आगामी दिनमा नयाँ आधारमा जनतामा स्थापित भएरै छाड्ने विश्वास व्यक्त गर्नुभयो । देशभरका पालिका सम्मेलनलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै उहाँले पार्टीलाई आफ्नै खुट्टामा उभिने क्रान्तिकारी पार्टी बनाउने क्रम शुरु भइसकेको जानकारी दिनुभयो । अध्यक्ष दाहालले हालसम्म केन्द्रीय कार्यालयमा झण्डै आठ लाख सक्रिय पार्टी सदस्यको नामावली प्राप्त भइरहेको र प्रक्रियामा रहेका झण्डै दुई लाख गरी १० लाख बराबरको सक्रिय सदस्य पुग्ने अवस्था देखिएको जानकारी दिनुभयो । माओवादी पार्टी पुनः मुलुकको पहिलो पार्टी बन्ने उल्लेख गर्दै उहाँले विचार, राजनीति र सङ्गठनमा रहेको अलमलसमेत अब सकिएको स्पष्ट पार्नुभयो । सङ्गठनात्मक अभियानलाई क्रियाशिलताका साथ अगाडि बढाएपछि तराई मधेशदेखि हिमाली जिल्लामा समेत पार्टीप्रतिको आकर्षणमा थप वृद्धि भएको उहाँको भनाइ छ । डोल्पा, भोजपुर, रौतटह र सर्लाहीलगायत जिल्लामा भएका जनसभालगायतबाट पनि पार्टीप्रति जनताको विश्वासमा वृद्धि भएको आफूले पाएको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो । पार्टीमा महिलाको सहभागिता बढाएर ३५ प्रतिशत पु¥याइएको, युवाको प्रतिनिधित्व २० प्रतिशत रहने गरी सुनिश्चिता गरिएको तथा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई विशेष प्राथमिकतामा राखिएका कारण जनताले माओवादी नै भरोसायोग्य पार्टी भएको विश्वास गरेको उहाँको भनाइ छ । अध्यक्ष दाहालले पार्टीलाई नयाँ शिराबाट उठाउने विश्वास दिलाएका कारण माओवादीमा बुद्धिजीवी, युवा, मजदुर, किसान र विभिन्न पार्टीका नेता तथा कार्यकर्ताको आकर्षण बढेको दावी गर्नुभयो । विचार र राजनीतिक कार्यदिशाको अभावमा आयोजना गरिने सम्मेलन र महाधिवेशन कुम्भ मेला जस्तो देखिने तर्क गर्दै उहाँले भन्नुभयो, “जहाँ विचार र छलफलका लागि ठाउँ छैन । तर, जनतालाई भ्रम दिने कोशिस भइरहेको छ । त्यस्ता सम्मेलनको कुनै अर्थ हुँदैन ।” संविधान,सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्रका साथ प्रतिनिसिभाको विघटन गरिएको र परिवर्तनका सबै एजेण्डलाई ध्वस्त पार्न खोजिएका कारण जनताले बाध्य भएर त्यसको प्रतिवाद गरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “प्रतिगमनप्रति गरिएको प्रतिवादका कारण आजको अवस्थामा हामी छौँ, यो हामी सबैका लागि खुशी र गर्वको कुरा हो ।”

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.