Nepal Jana Khabar
हरेक जनताको खबर
१२ श्रावण २०८२, आईतवार
ट्रेनडिंग

कीरा फैलिन नदिन झरेका सुन्तलाका दानाको व्यवस्थापन

म्याग्दीमा चाइनीज सिट्रोस फ्रुट फ्लाई नामक कीराको सङ्क्रमणबाट झरेका सुन्तलाको दाना व्यवस्थापन गर्न थालिएको छ

म्याग्दीमा चाइनीज सिट्रोस फ्रुट फ्लाई नामक कीराको सङ्क्रमणबाट झरेका सुन्तलाको दाना व्यवस्थापन गर्न थालिएको छ । केही वर्षयता सुन्तला पाक्ने बेलामा दानाभित्र चाइनीज सिट्रोस फ्रुट फ्लाई र सिट्रोस ग्रिन नामक कीराको असरले दाना झर्न झरेर किसानलाई सताउँदै आएको छ ।

औँसा परेर झरेका सुन्तलाको दानालाई सुरक्षित राख्न र पासो थाप्नका लागि प्राविधिक ज्ञान दिनस्थलगत तालिम सुरु गरिएको कृषि ज्ञान केन्द्रका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । उहाँका अनुसार बेनी नगरपालिका–४ बास्कुना र अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानलाई बगैँचामै आँैसाले झरेका दाना तथा बगैँचा व्यवस्थापन र सरसफाइ गर्ने तालिम दिइएको छ । अर्मन, बरङजामा पनि तालिम सञ्चालनको तयारी गरिएको छ । स्थलगत तालिम सञ्चालनका लागि केन्द्रले रु दुई लाख बजेट छुट्याएको छ ।

यसैगरी सिट्रोस फ्रुटफ्लाई कीरा मार्ने खाद्यपासो प्रोटिन बेट र झरेका दाना व्यवस्थापन गर्ने प्लास्टिकको बोरा वितरणका लागि रु दश लाख छुट्याएकोे छ । तीन हजार किलोग्राम प्लास्टिकको बोरा वितरण गर्ने लक्ष्य लिइएको अधिकृत पाण्डेले बताउनुभयो । गतवर्ष प्रोट्रिन बेटको खाद्य पासो राखिएकाले झरेका दाना व्यवस्थापन भएको बगैँचामा यसपाली कीराको प्रकोप घटेको हुँदा यस अभियानलाई विस्तार गरिएको केन्द्रका प्रमुख किरण सिग्देलले बताउनुभयो । पाक्ने बेलामा दाना झर्ने समस्याले गर्दा केही वर्षयता जिल्लामा सुन्तला खेती मुख्य चुनौतीको रुपमा देखा पर्दै आएको छ ।

यो पनि पढनुस !!

गोरखामा मनाइयो मकै सुकाउने पर्व

सुन्तलाको बोट सुक्ने र दाना झर्ने समस्याका कारण ठूलो क्षति भएको बेनी नगरपालिका–३स्थित राखुका खिमबहादुर पुनले बताउनुभयो । कात्तिकको अन्तिम हप्तादेखि सुन्तलाको दाना झर्न थालेको त्यहाँका किसानले बताएका छन् । सुन्तला जातका फलफूलको दानाभित्र पसेको औँसाले असोजदेखि पुस महिनासम्म पहँेलो बनाएर दानामा प्वाल पारेर भूइँमा खसाल्ने गर्छ । किसानलाई झरेका दाना व्यवस्थापन गर्न सिकाउनाका साथै आगामी वर्ष समस्या आउन नदिन प्रोटिन बेट वितरण गर्न थालिएको प्रमुख सिग्देलले बताउनुभयो । उहाँका अनुसार भुइँमा खसेको आँैसालाई प्लास्टिकको बोरामा हावा नछिर्ने बनाएर राख्ने, पानीको पोखरीमा डुबाउने, गाईबस्तुलाई खुवाउने र डेढफिटभन्दा बढी गहिरो खाडल खनेर व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

जेठ असारमा दानाभित्र पस्ने औँसा चिसो मौसममा जमिनभित्र बस्छ । आगामी वर्ष यस्तो समस्या हुन नदिन झरेको दाना व्यवस्थापन गर्ने र चैत वैशाख महिनामा प्रोट्रिनबेटसँगै विषादी मिसाएर बोटमा छर्कनुपर्ने कृषि प्राविधिकले बताएका छन् । यसैगरी सुन्तलाको रुख र हाँगाभित्र गबारो छिरेर खाएपछि बोट पहेँलो भएर सुक्ने समस्या पनि देखिएको छ । प्रोटिन बेटमा दाना झार्ने कीरालाई मन पार्ने तत्व मिसाइएको हुन्छ । खानेकुरासँगै विषादी खाएर कीरा मर्छ र नियन्त्रणमा सहयोग पुग्छ । रुख सुक्ने समस्या समाधानका लागि बगैँचा व्यवस्थापन र सुकेका हाँगा काँटछाँट गर्न कृषिप्रसार अधिकृत पाण्डेले सुझाव दिनुभयो । फल टिपेपछि मलजल, गोडमेलसँगै बोडेपेष्ट लगाउने र स्प्रे गर्न पनि उहाँको आग्रह थियोे ।

राखु, मरेक, सुर्केमेला, बरङजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् । सातसय छ हेक्टर जमिनमा सुन्तला खेती भएको केन्द्रको तथ्याङ्क छ । तीनसय पैँतिस हेक्टर जमिनमा लगाइएको बोटले उत्पादन दिँदै आएको थियो । गतवर्ष दुई हजार ४१२ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यहाँको सुन्तला पोखरा, चितवन, बुटवल र काठमाडौँमा निकासी हुन्छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.