Nepal Jana Khabar
हरेक जनताको खबर
१२ श्रावण २०८२, आईतवार
ट्रेनडिंग

कात्तिक नाचको तेस्रो दिन आज ‘बाथः प्याखँ–कौला खिचा’ मञ्चन हुने

पाटनको कृष्ण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा कात्तिक नाचको तेस्रो दिन आज ‘बाथः प्याखँ–कौला खिचा’ मञ्चन हुने भएको छ

पाटनको कृष्ण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा कात्तिक नाचको तेस्रो दिन आज ‘बाथः प्याखँ–कौला खिचा’ मञ्चन हुने भएको छ ।
हरेक वर्ष पाटनमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार आज साँझ सो नृृत्य प्रदर्शन गर्न लागिएको हो । ‘बाथः प्याखँ–कौला खिचा’ अर्थात् बाठा तीन भाइले एक ब्राह्मणलाई सत्य भएर पनि भ्रमित बनाउन सफल भएको विषयमा आधारित नृत्य मञ्चन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस कथामा सडकको तीन कुनामा छरिएर बसेका तीन बाठा मानिसले एक ब्राह्मणले दानमा पाएको बोका ल्याएको देख्छन् । उनीहरुले त्यस बोका आफूहरुले खाने जुक्तिअनुरुप “ब्राह्मणले कुकुर ल्याए । ब्राह्मणले कुकुर ल्याए ।” भनेर कराउँछन् । ब्राह्मणले, “यो कुकुर होइन् । यो त बोका हो”, भन्छन् । ती तीन व्यक्तिले “होइन, यो कुकुर नै हो ।” भनेर जिद्धी गरेपछि ब्राह्मणले पक्कै यो कुकुर रहेछ भन्दै बाटैमा छाडेर जान्छन् । सो बोका ती तीनै व्यक्तिले मिलेर खान्छन् । यदि धेरै मानिस मिलेर झुटो बोले भने सत्यलाई पनि असत्य बनाउन सकिन्छ भन्ने कुरा नृत्य र नाटकमार्फत दर्शाउन खोजिएको उहाँको भनाइ थियो ।

यसैगरी बुधबार राति ‘सुदामा प्याखँ’ अनि बिहीबार ‘बाथः प्याखँ–च्वले खुदाँ दाँ खुदाँ’ नाच ठूलो हर्ष र भव्यताका साथ सम्पन्न गरिएको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताउनुभयो । विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए ।

यस गरिमायम नाचको सर्जक श्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षा गुरु पण्डित हरिवंश उपाध्याय र दिक्षा गुरु विश्वनाथ उपाध्यायलाई दिइन्छ । कात्तिक नाचको माध्यमद्घारा देशमा आउने विध्नबाधा हटेर शान्ति र सु–व्यवस्था कायम रहने विश्वास गरिन्छ ।

यस नाच थालनी ले सुरुआती चरणदेखिनै जनतालाई एउटै सुत्रमा बाँधेर मनोरञ्जन दिनाका साथै धार्मिक, नैतिक, सामाजिक ज्ञानसमेत प्रदान गरिने रहेको छ । कात्तिक महिनाभर विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु ठूलो विशेषता रहेको छ । कात्तिक नाच प्रथम पटक पाँच दिन प्रदर्शन गरिएको थियो । सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालादेखि ‘बाथःप्याखँ’ अर्थात ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिनसम्म सञ्चालन गरिएको जानकार बताउछन् ।

यसैगरी श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीलालार्इ पछि थपेर २७ दिन सञ्चालन गरेका कुरा पनि सुन्नमा आउछ । मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्काे दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको थियो ।

यो पनि पढनुस !!

यो ललितपुरको मात्र नभइ सिङ्गो मुलुककै राष्ट्रिय अमूर्त सम्पदाका साथै परम्परागत संस्कृतिको जगेर्ना गर्ने माध्यम पनि बनिरहेको छ । हिन्दूका साथै बौद्धधर्मावलम्बीका लागि पनि अतिनै महत्वपूर्ण सो नाट्य महोत्सव यो वर्ष आठ दिन मञ्चन गरिने भएको छ, भने गतवर्ष मुलुकमा कोरोना महामारी बढेकाले मात्रै दुई दिन देखाइएको थियो ।

सो नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा सम्पूर्ण नेपाली सामु रहन सफल भएकोे छ । ऐतिहासिक तथा सांस्कृतिक एवं तान्त्रिक मूल्य र मान्यता बोकेको यस नाचको गरिमा आज पनि उत्तिकै उच्च रहेको समितिका प्रचार विभाग संयोजक सञ्जय शर्मा राजोपाध्यायले सुनाउनुभयो ।

विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार सङ्ग्रहालय परिसरमा सो नृत्य देखाइन्छ । कात्तिक नाच देखाउने पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्र घोषित गरिसकेको छ ।

नाच प्रदर्शन गरिने पाटन क्षेत्र धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरै मन्दिरका रूपमा परिचित काठमाडौँ उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन सहरमध्ये सबैभन्दा पुरानो मानिन्छ । सो नाचका अलवा पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि पनि मनाइन्छन् ।

पाटनमा काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री निमाण भई विभिन्न विदेशी मुलुकमा निर्यात हुने गरेको पाटन दरबार सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले उल्लेख गर्नुभयो ।
कोरोना महामारी न्यूनीकरण भएसँगै र कात्तिक नाच पनि अघि बढेकाले हिजोआज पाटन दरबार क्षेत्रमा बिहानैदेखि मध्यरातसम्म मानिसको भरिभराउ हुने गरेको समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले बताउनुभयो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.