Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

रुद्रायणी मन्दिर पुनःनिर्माणमा जग खनेर ढुङ्गा भर्ने काम जारी

ललितपुर महानगरपालिका–२१ खोकनामा अवस्थित रुद्रायणी देवी मन्दिर पुनःनिर्माणका लागि जग खन्ने काम सम्पन्न भएर ढुङ्ग भर्ने काम अघि बढेको छ

ललितपुर महानगरपालिका–२१ खोकनामा अवस्थित रुद्रायणी देवी मन्दिर पुनःनिर्माणका लागि जग खन्ने काम सम्पन्न भएर ढुङ्ग भर्ने काम अघि बढेको छ ।

वडावासी जात्रा एवं धान भित्र्याउने आदि चटारोमा व्यस्त भएसँगै सो मात्राको काम सम्पन्न भएको हो । मन्दिर पुनःनिर्माणका लागि कूल आठ फिट जग खनेर त्यसमध्ये पाँच फिटमा ढुङ्गा भर्ने काम अघि बढिरहेको रुद्रायणी मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष बेखनर महर्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यसमा छ इञ्च जति चुन अनि सुर्कीका साथै बालुवा तथा गिटी आदि राखेर ढलान गर्नेछाँै ।” मन्दिर पुनःनिर्माणमा महानगरपालिका र पुरातत्व विभागले सहयोग गर्ने भनिएको रकममा केही लिएर काम अघि बढाइएको महर्जनले जानकारी गराउनुभयो ।

दायाँबायाँ आँखीझ्याल रहेको तीन तले झिँगटी छाएको सो मन्दिर विसं २०७२ को भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । मन्दिर पूर्णरुपमा जीर्ण भएसँगै पुनःनिर्माणका लागि यही जेठमा जनश्रमदानबाट १८आँै दिनमा भत्काउने काम सम्पन्न गरिएको कोषाध्यक्ष इश्वर डङ्गोलले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिर बनाउन लपु महानगरपालिकाले रु एक करोड २५ लाखका साथै विभागले रु एक करोड सहयोग गर्ने वचनबद्धता गरेका छन् ।” मन्दिरको झ्याललगायत थाम आदि वस्तु समितिको निगरानीमा राखिएको डङ्गोलले जानकारी गराउनुभयो ।

मन्दिरका पुराना दलिन अब मात्रै पाँच प्रतिशत प्रयोग गर्न मिल्ने समितिले जानकारी गराएको छ । मन्दिर पुनःनिर्माणका लागि दाताबाट लगभग रु चार लाख सङ्कलन भइसकेको अध्यक्ष महर्जनले सुनाउनुभयो । “विभागले मन्दिर पुनःनिर्माणमा कूल रु छ करोड चानचुन लाग्ने अनुमान गरिरहँदा स्थानीय इञ्जिनीयरले रु आठ करोड लाग्ने बताइरहेका छन्”, उहाँले भन्नुभयो ।

सो मन्दिरमा सार्वजनिक संरचनामा धेरै प्रयोग हुने ‘दचि अपा’ र ‘माँ अपा’ नामक दुई थरिको इँटा बढीमात्रामा प्रयोग भएको पाउँदा ‘माँ अपा’ ल्याइसकेको र अर्काे ल्याउन बाँकी नै रहेको बताइएको छ ।

यो पनि पढनुस !!

देवी मन्दिर भत्काउँदा भेटिएका केही तामा अनि चाँदीका साथै पित्तलका पैसा र पुनः प्रयोग गर्न मिल्ने आँखीझ्याल तथा थाम उपभोक्ता समितिको निगरानीमा राखिएको जनाइएको छ । ललितपुरको ऐतिहासिक बस्तीमा रहेको सो मन्दिर खोकनाको जात्रा अनि पर्व र नाचसँग जोडिएको छ ।

पूर्र्वप्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यका साथै पूर्वशहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले २०७७ साल मङ्सिर १५ गते सो मन्दिरको अवलोकन गरी छिट्टै पुनःनिर्माणको काम अघि बढाइने आश्वासन दिनुभएको थियो ।

यसैगरी उक्त मन्दिर पुनःनिर्माणका लागि गत भदौ २३ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शिलान्यास गर्नुभएको थियो । मन्दिरलाई पुरानै शैलीमा गुणस्तरीयताका साथै निर्माण गर्न आफूहरुले पटकपटक अनुरोध गरिरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको भनाइ छ ।

रुद्रायणी मन्दिर रहेको सो ठाउँ तोरीको तेलका लागि अति प्रख्यात मानिन्छ । उपत्यकाभित्र हिन्दू धर्मावलम्बीको महान् चाड दसैँ नमनाउने स्थानका रुपमा खोकनालाई चिनिन्छ । खोकनामा दसैँ नमनाएर सिकाली जात्रा मनाइने गरिन्छ । सरकारले खोकनालाई आधुनिक शहरमा परिणत गर्न विभिन्न परियोजना अघि सारिरहेको छ ।

खोकना अनि नजिकै रहेको बुङ्मती क्षेत्र मूर्त तथा अमूर्त सम्पदाको धनी भएकै कारण सोलाई सम्पदा बस्ती घोषणा गरिएको थियो । उपत्यकामा मानवबस्तीको सुरुआत खोकनाबाटै भएको स्थानीयको बुझाइ छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.