Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

वायुसेवा निगमको काम कारबाही प्रभावित

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारीको दुई महिनाभन्दा बढी लामो आन्दोलनले निगमको व्यवसायमा दूरगामी असर पार्ने महत्वपूर्ण काम कारबाही प्रभावित भएको जनाएको छ

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारीको दुई महिनाभन्दा बढी लामो आन्दोलनले निगमको व्यवसायमा दूरगामी असर पार्ने महत्वपूर्ण काम कारबाही प्रभावित भएको जनाएको छ ।

निगमका प्रहाप्रबन्धक डिमप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै कर्मचारीको आन्दोलनका कारण संस्थाको दैनिक कामकाज अवरोधका साथै दसैँ तिहारजस्ता ठूला चाडपर्वको सम्मुखमा कर्मचारीलाई तलब वितरणमा समेत समस्या परेको बताउनुभएको हो ।

निगमभित्रको पछिल्लो अवस्थाले संस्थागत मर्यादाको उल्लङ्घन मात्र नभएर संस्थाको भविष्यमाथि नै गम्भीर सङ्कट पैदा गरेको भन्दै निगमको सेवालाई अविछिन्न राख्न सबैको भूमिका चाहिने उल्लेख गर्नुभएको छ ।

निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढाइएसँगै निगमका कर्मचारीले गत असार १८ गतेदेखि निगम केन्द्रीय कार्यालयमा धर्नालगायतका कार्यक्रम गर्दै आएका छन् । निगमले अनुमति पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड हेण्डलिङ सेवाका लागि आवश्यक तयारीको कार्य आन्दोलनले प्रभावित हुन पुगेको छ ।

त्यस्तै निगममा आइएफआरएस प्रणाली लागू गर्ने सम्बन्धमा गर्नुपर्ने तयारी, अनलाइन टिकट प्रणालीसमेत हुने गरी पिएसएस लागू गर्ने सम्बन्धमा गरी राखिएको तयारीको काम पनि प्रभावित बनेको छ ।

ए ३२० को इञ्जिन मर्मतका लागि एमआरओ छान्नेसम्बन्धी सम्पूर्ण प्रक्रिया अवरोध भएको छ भने अर्थ मन्त्रालयको निर्देशनबमोजिम गर्नुपर्ने निगमको अद्यावधिक डिडीएसम्बन्धी काम पनि प्रभावित भएको छ । आव २०७८÷७९ को बजेट तथा वार्षिक कार्यक्रम तर्जुमाको काम, महालेखा परीक्षकको प्रतिवेदनउपर छलफल र जवाफ दिने कार्य (आन्दोलनका कारण म्याद गुज्रिन पुगेको), निगमको ऋण दायित्व भुक्तानी गर्न अर्थ मन्त्रालयको समन्वयमा गरिने सम्पूर्ण काम अघि बढ्न सकेको छैन ।

निगम व्यवस्थापनले तयार गरी सञ्चालक समितिले स्वीकृत गरेको १० वर्षे व्यावसायिक योजना कार्यान्वयन गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि विमान सङ्ख्या थप गर्न नेपाल सरकारसँग समन्वय गर्नेसम्बन्धी सम्पूर्ण कामलगायत काम कारबाही प्रभावित हुन पुगेको निगमले विज्ञप्तिमा जनाएको छ ।(रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.