Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

कृषि बिमाबाट कृषक लाभान्वित

यहाँका १८ कृषक कृषि बिमाबाट लाभान्वित भएका छन्

यहाँका १८ कृषक कृषि बिमाबाट लाभान्वित भएका छन् । आर्थिक वर्ष २०७७÷२०७८ मा लमजुङमा सो सङ्ख्यामा कृषक तथा कृषिफार्म बिमाबाट लाभान्वित भएका हुन् । व्यावसायिकरुपमा कृषि पेशामा अघि बढेका कृषक तथा फार्म गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको बिमा राहतबाट लाभान्वित भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।

केन्द्रका अनुसार जिल्लामा मौरी, गोलभेँडा, अलैँची, कफी, आलु एवं कागतीको व्यावसायिक खेती गर्दै आएका कृषक बिमा राहतबाट लाभान्वित भएका छन् । प्रदेश सरकारले गत आर्थिक वर्षमा व्यावसायिक कृषि गर्दै आएका कृषकका लागि कृषि बिमा कार्यक्रममा विशेष राहत प्याकेजसमेत ल्याएको थियो । कोरोना सङ्क्रमणको जोखिमसँगै सरकारले जारी गरेको लकडाउनका कारण कृषक समस्यामा परेको भन्दै उक्त वर्गलाई लक्षित गर्दै प्रदेश सरकारले राहत प्याकेज ल्याएको छ ।

सरकारले व्यावसायिक कृषि उत्पादन गर्दै आएका कृषकलाई कृषि बिमा प्रिमियममा २५ प्रतिशत छुटसहितको राहत प्याकेज ल्याएको थियो । कृषि बिमाको प्रिमियममा यसअघि बिमा रकमको ७५ प्रतिशत रकम सङ्घ सरकारले तिर्ने गरेको थियो । हाल प्रदेश सरकारले बाँकी २५ प्रतिशत रकम तिरेपछि कृषकले निःशुल्क कृषि बिमा गरेको कृषिज्ञान केन्द्रका अर्थविज्ञ तथा सूचना अधिकारी मदन रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारको विशेष राहत प्रिमियममा २५ प्रतिशत अनुदान विशेष कार्यक्रमअन्तर्गत जिल्लामा एक लाख ५२ हजार रुपैयाँ खर्च भएको छ ।” जिल्लामा अलैँची खेती गरेर बिमा गराएका छ वटा फार्मका लागि प्रदेश सरकारको २५ प्रतिशत प्रिमियमअन्तर्गत ७२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

सोहीबमोजिम गोलभेँडा खेती गर्दै आएका चार फार्मका लागि ३२ हजार, कफी खेती गर्दै आएका तीन फार्मका लागि २४ हजार, मौरीपालन गर्दै आएका तीन कृषकका लागि १६ हजार रुपैयाँ, व्यावसायिकरुपमा आलु उत्पादन गर्दै आएका एक कृषकका लागि छ हजार रुपैयाँ र व्यावसायिकरुपमा कागती उत्पादन गर्दै आएको एक फार्मका लागि दुई हजार रुपैयाँ भुक्तानी गरेको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।

सरकारले निःशुल्क कृषि बिमा गर्न थालेपछि पछिल्लो समयमा युवापुस्तासमेत कृषि पेशामा आकर्षित हुन थालेका छन् ।

कृषि ज्ञान केन्द्र लमजुङको ७२ प्रतिशत वित्तीय प्रगति भएको छ । आर्थिक वर्ष २०७७÷२०७८ मा गरेको योजना तथा कार्यक्रम गरी ७२ प्रतिशत वित्तीय प्रगति भएको केन्द्रका अर्थविज्ञ तथा सूचना अधिकारी रेग्मीले बताउनुभयो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.