Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

तीर्थस्थलमा पितृपक्षको चहलपहल

असोज पूर्णिमाका दिन अगस्त्यसहित ऋषिगण तथा देवगणलाई तर्पण दिँदै हिन्दू परम्पराका मैथिलले पितृपक्ष प्रारम्भ गरेका छन्

असोज पूर्णिमाका दिन अगस्त्यसहित ऋषिगण तथा देवगणलाई तर्पण दिँदै हिन्दू परम्पराका मैथिलले पितृपक्ष प्रारम्भ गरेका छन् । असोज कृष्णपक्षदेखि पितृपक्ष प्रारम्भ भए पनि मिथिलामा पूर्णिमाकै दिनदेखि पवित्र जलाशयमा तर्पण दिने परम्परानुसार यहाँका पवित्र जलाशयमा यसैअनुसार आज पूर्णिमाका दिनदेखि पितृपक्ष सुरु भएको हो ।

“दिवङ्गत पितृलाई तर्पण दिनुअघि ऋषिमुनिको स्मरण गर्ने हिन्दू मैथिल परम्परा छ”, बर्दिबास–२ का पुरोहित महेशकुमार झा भन्नुहुन्छ, “यसैअनुसार पहिलो तर्पण अगस्त्य ऋषिलाई दिइने र मङ्गलबारदेखि पितृ तर्पण थालिने छ ।” अगस्त्य ऋषि र दिती, अदितिसहितका उहाँका पत्नी ब्रह्माको आदेशले सृष्टि प्रारम्भ गर्ने आदिमानव मानिएको उहाँको भनाइ छ ।

असोज कृष्णपक्षलाई पितृपक्ष (मैथिली बोलचालमा पितरपक्ष) वा सो¥हश्राद्ध भनिने गरिएको छ । यस अवधिमा पितृ (दिवङ्गत आफन्त) स्वर्गबाट पृथ्वीमा ओर्लने विश्वास गरिन्छ । पृथ्वी आएका पितृले आफ्ना सन्तानले दिएको तर्पण र पिण्ड सोझै ग्रहण गर्ने विश्वासमा यस अवधिभर तर्पण र श्राद्ध गरी पिण्ड दिने परम्परा छ ।

पितृपक्ष प्रारम्भको एक दिनअघि आज पूर्णिमाकै दिन जिल्लाका धार्मिक महत्वका जलाशयमा तर्पण र तीर्थश्राद्ध गर्नेको भीड बढेको छ । जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर, मटिहानीस्थित लक्ष्मीनारायणस्थान, जलेश्वरकै पुरन्दर, वरुण र भार्गव सर, बलवा नगरपालिकाको ध्रुवकुण्ड र भङ्गाहा नगरपालिकाको सिद्धनाथ महादेवस्थान श्रद्धालुको जमघटले भरिभराउ भएकोे छ ।

यसैगरी बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरसँगैको मरहा नदी तट, बर्दिवास–३ को राइमण्डल धार्मिक क्षेत्र र रातु, मरहा एवं ओक्सीलगायत नदीतटमा तर्पण दिने यजमानलाई सङ्कल्प गराउन पुरोहितको पनि व्यस्तता बढेको छ । कर्तापिच्छे गोत्र, नाउँ र पितृको फरकफरक सङ्कल्प पढ्नुपर्ने भएकाले पुरोहितलाई भ्याइनभ्याइ भएको हो । यो क्रम असोज अमावस्यासम्म रहनेछ ।

यो पनि पढनुस !!

पितृपक्षका बेला तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ तृप्त हुन्छन् भन्ने विश्वासले हिन्दू धर्मावलम्बी आजदेखि तीर्थस्थलमा श्राद्ध गर्न पुगेका हुन् । यो पक्षमा पितृपक्ष र मातृपक्षसँगै गुरु, दिवङ्गत राष्ट्रप्रमुख र नजिकका अन्य दिवङ्गत नातेदारलाई तर्पण र पिण्ड दिने चलन छ ।

मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथिका श्राद्ध गरिने भएकाले यसलाई ‘सोलहसराद’ पनि भनिन्छ । पूर्णिमा तिथिको पार्वण श्राद्ध पनि औँसीमै गरिने हुँदा पक्ष १५ दिनकै भए पनि श्राद्ध चाहिँ १६ तिथिका हुने भएकाले यस पक्षलाई ‘सोलहसराद’ भन्ने गरिएको मैथिल कर्मकाण्डका ज्ञाता बताउँछन् ।

यस पक्षमा पार्वण र एकोपार्वण श्राद्ध गरिन्छ । यस पक्षबाहेक अन्य तिथिमा दिवङ्गत भएर बर्खान्त गरिएका पितृलाई तर्पण, पिण्ड दिइने श्राद्धलाई पार्वण र यसै पक्षमा दिवङ्गत भएका पितृको गरिने श्राद्धलाई एकोपार्वन भनिने भङ्गाहा–५ का पुरोहित विष्णुप्रसाद शर्मा बताउनुहुन्छ । यी श्राद्ध तीर्थस्थल वा घरमै पनि गरिने चलन छ । यस पक्षबाहेक अन्य समयमा दिवङ्गत पितृका तिथिमा गरिने श्राद्धलाई भने एकोदिष्ट भनिन्छ, त्यसमा उनै दिवङ्गतलाई मात्र एउटा पिण्ड दिइन्छ ।

दशैँ, तिहार र छठजस्ता चाडबाडअघि पितृको स्मरण गर्नाले पारिवारिक बिघ्न नपर्ने र पितृ तृप्त हुने विश्वास छ । यी पर्वबाहेक घरमा आयोजना गरिने अन्य माङ्गलिक कार्यअघि पनि पितृलाई तृप्त गराउन नानीमुखी श्राद्ध र सप्तमातृकाको पूजा गर्ने वैदिक परम्परा रहेको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।

वर्षका अन्य बेला गरिने गरिने शुभकार्यअघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्बिघ्न सम्पन्न होस् भनी गरिने कामना जस्तै दशैँ, तिहार र छठपर्वका मुखमा पितृलाई तृप्त गर्न एक पक्ष नै छुट्याइएको हुन सक्ने सोही विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलको भनाइ छ । हिन्दू परम्परानुसार पितृपक्षभर मत्र्यलोक आएका पितृले आफ्ना सन्तानले दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ ।(रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.