काठमाडौँ २७ भदौ आज थारु समुदायका व्यक्तिहरुले व्रत बसी अटवारी पर्व मनाउँदै छन्। प्रत्येक वर्ष भाद्र शुक्ल पक्षका थारू समुदायले मनाउने यस पर्वको आफ्नै धार्मिक विशेषता महत्व र मौलिकता रहिआएको छ। धार्मिक मान्यताअनुसार राजा दशीशरणलाई बचाउन पाँच पाण्डवहरुमध्ये भीमले सहायता गरी शत्रुमाथि विजय प्राप्त गरेको दिनदेखि थारु समुदायले मानिसको जीवनमा आइपर्ने शत्रु रोग,भोग र शोक भएकाले आफ्ना दिदीबहिनीहरूको जीबनमा कुनै प्रकारको रोग,भोक र शोक नआओस् भन्ने उद्देश्यले दाजुभाइहरुले दिदीबहिनीहरूको सुस्वास्थ र दिर्घायुको कामना गर्दै निराहार व्रत बस्ने गर्दछन्।
दिदीबहिनीहरूको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बसेका दाजुभाइहरुले साँझको समयमा आगोमा सल्लाको धूप बनाई आफ्ना दिदीबहिनीहरुलाई भगवानले सुस्वास्थ्य दीर्घायु प्रदान गरून भन्ने कामना गर्दै भिमको पूजा गर्दछन्। त्यसलगत्तै साँझपख बहरी भन्ने कोठामा गाईको गोबरले लिपपोत गरी गन्यारी काठको प्रयोग गरि दाजुभाइको समूहमा मीठा-मीठा परिकार तयार गर्ने गरिन्छ। फुलौटी, केराउ, पटौला,ठच्चा, माछाको सिद्रा लगायतका परिकार व्रतालुले साँझ भगवानको पूजा समाप्त भएपछि व्रत समापन हुन्छ।
त्यसपछि व्रतालुले परिकार बनाउने तयारी गर्छन् परिकार तयारी भएपछि प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन रहेको थारु समुदायका अगुवा र बुद्धिजीवी व्यक्तिहरूले जनआवाज मिडियालाई बताउनुभयो। यसैगरी व्रतको भोलिपल्ट आफूले बनाएका मीठा परिकार दिदीबहिनीहरुलाई दिने र दिदीबहिनीहरुले आफ्ना दाजुभाइलाई उपहार दिने प्रचलन रहेको थारु समुदायका अगुवा र बुद्धिजीवीहरुले जनआवाज मिडियालाई बताउनुभयो। यसै अवसरमा पर्व मनाउने सम्बन्धित व्यक्तिहरुलाई सरकारले थारु समुदायका व्यक्तिहरुलाई पर्वको उपलक्ष्यमा सार्वजनिक विदा दिएको थारु समुदायका अगुवा दानसि दहितले बताउनुभयो। पारिवारिक सद्भाव र एकताको पर्व भएकाले यसको आफ्नै धार्मिक महत्व मात्र नभई पारिवारिक सम्बन्ध र एकताको पर्वको रूपमा अटवारी पर्व रहेको थारु समुदायका व्यक्तिहरूको भनाई छ।