उपत्यकामा नेवार समुदायका व्यक्तिहरुले मृत आत्माको चिरशान्तिको कामना गर्दै नगरपरिक्रमा गर्दै मनाईने शोकको पर्व गाईजात्रा हो। यसदिन मृतकको आत्माको चिर शान्तीको कामना गर्दै साना साना बालबालिकालाई कृत्रिम गाई बनाएर नगर परिक्रमा गराउने प्रचलन छ। यसैगरी कतिपय व्यक्तिहरुले गाईलाई नै नगर घुमाउने प्रचलन मल्लकालीन समयदेखि वर्तमान समयसम्म चल्दै आएको छ। नगरपरिक्रमा गर्नुको साथै फलफूल,अन्न,पैसा,रोटी,मिठाई,दुध, बिस्कुट लगायतका खाद्यान्न साम्रगी बाड्ने प्रचलन मल्लकालीन समयदेखि हालसम्म चल्दै आएको छ।
मल्लकालीन इतिहासलाई हेर्ने हो भने कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्लको पुत्रको मृत्यु भएपछि जयप्रकाश मल्लको धर्मपत्नी पुत्रको शोकमा धेरै विलाप गरी रानीको मनमा छाएको अशान्त भाबलाई बुझी कान्तिपुरका देशवासीहरु मध्ये कतिपय जनताको परिवारको सदस्य गुमेको छ होला भन्ने विषयलाई आभास दिलाउन राजाले मरेका व्यक्तिका परिवारका सदस्यहरुलाई नगर परिक्रमा गर्न उर्दी जारी गरेपछि कान्तिपुरका मृतकको परिवारका सदस्यहरु नगरपरिक्रमा गरेसँगै रानीलाई आफ्नो पुत्रको मात्र मृत्यु नभई कतिपय नागरिकका परिवारका सदस्यका मृत्यु भएको रहेछ भन्ने विषयमा थाहा पाएपछि मनका पीडा र बेदनाहरु हटेर गएको मल्लकालिन इतिहासमा उल्लेख छ। मल्लकालीन इतिहासलाई आधार मान्दै उपत्यकाका नेवार समुदायका व्यक्तिहरु आफ्ना मृतकको परिवारको सदस्यको आत्माको चिर शान्तीको कामना गर्दै नगर परिक्रमा गर्ने प्रचलन हालसम्म पनि कायमै रहेको छ।
यससँगै गाईजात्राको भोलिपल्ट ललितपुर जिल्लामा मृतकको आत्माको चिरशान्तीको कामना गर्दै मतच्यालाई शोकको पर्वको रुपमा मान्दै ललितपुर क्षेत्र वरिपरि नगरपरिक्रमा गर्ने प्रचलन मल्लकालीन समयदेखि वर्तमान समयसम्म पनि प्रचलनमा रहिआएको छ । इतिहास र धर्ममा आस्था राख्ने व्यक्तिहरुलाई गाईजात्रा पर्व र गाईजात्रा भोलिपल्ट ललितपुर जिल्लामा हुने पर्व मतच्याको धार्मिक सांस्कृतिक एवं ऐतिहासिक महत्व रहेको छ। मल्लकालीन समयदेखि चलिआएको यस पर्वको जगेर्ना गर्ने बिषयतर्फ र विगतका मूल्यमान्यतालाई समाजमा स्थापित गर्न आफूले महत्वपूर्ण भूमिका खेल्नु पर्ने विषयमा सबैको ध्यान जानु आवश्यक देखिन्छ।प्रकाश कपाली (सह-सम्पादक)