Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

नेपाली नागरिकलाई नक्कली रूपमा राखी अमेरिका पठाउने गिरोहले राज्य संयन्त्र र अधिकारप्राप्त अधिकारीहरूलाई प्रयोग गरेको पुष्टि भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका अभियुक्त सन्देश शर्मा आइतबार ललितपुरको बख्खुडोलबाट पक्राउ परेका छन्। दाङ तुलसीपुर–१६ का स्थायी बासिन्दा शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। शर्माको पक्राउसँगै लामो समयदेखि स्थगित रहेको यो चर्चित ठगी प्रकरणमाथिको अनुसन्धान फेरि सक्रिय बनेको छ। प्रहरीले एकातिर यस प्रकरणमा सूक्ष्म अनुसन्धान अघि बढाएको छ भने अर्कोतर्फ यससँग जोडिएका अन्य शंकास्पद व्यक्तिहरूको घरमा छापा मार्न थालेको छ। केही दिनअघि मात्रै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार भूषण राणाको जावलाखेलस्थित घरमा समेत छापा मारेको थियो। राणा, निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन्। राणाको घरमा गरिएको छापाबारे प्रहरीले अझै विवरण सार्वजनिक गरेको छैन। यो प्रकरणको सुरुवात पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका समयमा भएको थियो। उक्त समयमा ८ सय ७५ जना नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा १० देखि ५० लाख रुपैयाँसम्म ठगी भएको अनुसन्धानले देखाएको थियो। यसै क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका थिए। तर त्यसबेला केपी शर्मा ओली प्रधानमन्त्री भएपछि यो प्रकरणमाथिको अनुसन्धान स्थगित भएको थियो। नेताहरूका अनुसार कांग्रेस र एमालेले तत्कालीन मन्त्री आरजु राणा पक्राउ पर्ने सम्भावना देखिएपछि अनुसन्धान थाम्ने सहमति गरेका थिए। भदौ महिनामा भएको जेन–जी आन्दोलनपछि ओलीको राजीनामा र नयाँ अन्तरिम सरकार बनेसँगै यो मुद्दा पुनः खुलाइएको हो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले मुद्दालाई प्राथमिकता सूचीमा राख्दै पुनः अनुसन्धान सुरु गर्न प्रहरीलाई निर्देशन दिएको छ। अनुसन्धान अधिकारीहरूका अनुसार सन् १९९० ताका नेपालमा शरण लिएका वास्तविक भुटानी शरणार्थीका सूचीमा नेपाली नागरिकलाई नक्कली रूपमा राखी अमेरिका पठाउने गिरोहले राज्य संयन्त्र र अधिकारप्राप्त अधिकारीहरूलाई प्रयोग गरेको पुष्टि भएको छ। संयुक्त राष्ट्रसंघको पुनर्वास कार्यक्रमका क्रममा झापा र मोरङका शिविरहरूमा रहेका करिब ६ हजार ५ सय वास्तविक शरणार्थीको व्यवस्थापन भइरहँदा, सोही अवसरमा नक्कली सूची बनाएर ठूलो रकम असुल्ने धन्दा चलाइएको थियो। प्रहरी स्रोतका अनुसार अहिलेको अनुसन्धान दोस्रो चरणमा प्रवेश गरेको छ र अन्य राजनीतिक रूपमा जोडिएका व्यक्तिहरू पनि छानबिनको दायरामा छन्। प्रहरी अधिकारीहरूका अनुसार “फरार सन्देश शर्माको पक्राउले यो मुद्दा पुनः निर्णायक चरणमा प्रवेश गरेको संकेत” दिएको छ। यो प्रकरणले न केवल ठगी अपराध, तर राज्य संयन्त्रकै विश्वसनीयतामाथि प्रश्न उठाएको भन्दै नागरिक समाज र कानुनी क्षेत्रका विज्ञहरूले छिटो, निष्पक्ष र पारदर्शी अनुसन्धानको माग गरेका छन्।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.