काठमाडौं, १९ असोज । लाङटाङ घुम्न गएका चार जना बढी आएको खोलामा बेपत्ता भएका छन् । भक्तपुरबाट नुवाकोट हुँदै रसुवाको पर्यटकीय स्थल लाङटाङ जाँदै गरेका दुई युवतीसहित चार जनालाई शनिबार बेलुकी वेरिङखोलामा आएको बाढीले बगाएको हो ।
१६ जनाको समूहमा लाङटाङ घुम्न जाने क्रममा रहेका भक्तपुरका चार जना युवायुवतीलाई गोसाइँकुण्ड गाउंपालिका –४ बेरिङ खोल्सामा आएको बाढीले बगाएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । उनीहरुको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको भनाई छ ।
प्रजिअ पन्थीका अनुसार मध्यपुरठिमी नगरपालिकाकी संकृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का रवि श्रेष्ठ रहेका छन् । उनीहरुको खोजीमा नेपाली सेना र प्रहरीको टोली परिचालन गरिएको प्रजिअ पन्थीले बताए ।