काठमाडौं १९ आश्विन वाइसिएल नेपालद्वारा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान सुरु काठमाडौं। देशभर निरन्तर भइरहेको वर्षा, बाढी, पहिरो र डुबानका कारण जोखिम बढ्दै गएपछि योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालले देशव्यापी उद्धार तथा राहत अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। पछिल्ला दिनहरूमा प्राकृतिक विपद्बाट ठूलो मानवीय तथा भौतिक क्षति हुने सम्भावना रहेको भन्दै संगठनले आफ्ना सबै तहका संरचना र सदस्यलाई जनसेवामा सक्रिय रहन निर्देशन जारी गरेको हो। वाइसिएल नेपालका अध्यक्ष पुष्प ओलीले जारी गरेको विज्ञप्तिमा देशभरका १० हजारभन्दा बढी सदस्यलाई तत्काल उद्धार, राहत र सहयोगका कार्यमा खटिन आह्वान गरिएको उल्लेख छ। उनका अनुसार, स्थानीय तह, सामाजिक संघ–संस्था, युवा क्लब तथा विपद् व्यवस्थापन संयन्त्रसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न हुन निर्देशन दिइएको छ। संगठनले बाढी तथा डुबानबाट विस्थापित परिवारका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, ओछ्यान, औषधि र प्राथमिक उपचार सामग्री आपूर्ति गर्ने तयारी गरेको छ। साथै, पहिरोका कारण अवरुद्ध सडक मार्ग खुलाउन र उद्धार कार्यमा पनि सदस्यहरूलाई परिचालन गरिने जनाएको छ। अध्यक्ष ओलीले भनेका छन्, “भैपरी आउने जस्तोसुकै विपद् र परिस्थितिमा पनि जनताको पक्षमा, जनताको सेवामा अग्रपंक्तिमा रहनु नै हाम्रो संगठनको मूल दायित्व हो।” यसअघि पनि वाइसिएल नेपालले बाढी, पहिरो र भूकम्प जस्ता प्राकृतिक विपद्का समयमा सक्रियतापूर्वक उद्धार तथा राहत अभियान सञ्चालन गरेको इतिहास रहेको उल्लेख गर्दै, यसपटक पनि उच्च सतर्कताका साथ प्रभावित जनतालाई शीघ्र सहयोग पुर्याइने संगठनले जनाएको छ।
ट्रेनडिंग