Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

बाँकेको नरैनापुरमा झाडापखालाबाट चार जनाको मृत्यु

बाँके, १७ भदौ । बाँकेको नरैनापुरमा झाडापखालाबाट चार जनाको मृत्यु भएको छ । बिगत केही दिनदेखि फैलिएको झाडापखालाबाट नरैनापुर- ३ मा चार जनाको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले जानकारी दिइन्। चार जनाकाे आइतबार मृत्यु भएकाे हाे।

‘गाउँमा झाडापखाला फैलिएपछि हिजो चार जनाको मृत्यु भयो,’ उपाध्यक्ष श्रीवास्तवले नेपालखबरसँग भनिन्, ‘त्यो गाउँमा झाडापखालाबाट १२ जना बिरामी छन्।’

नरैनापुर भारतसँग सीमा जोडिएको गाउँपालिका हो। नरैनापुर- ३ को गेगली गाउँमा झाडापखाला फैलिएको हो।

झाडापखालाबाट हरिराम पासीकी श्रीमती २५ वर्षीया रुसा पासी र उनकी छोरी डेढ वर्षीया नन्दनी, सोही ठाउँका मोहन लाल पासीकी श्रीमती ६० वर्षीया शान्ति र सखावत अलिका १० वर्षका छोरा युसुफको मृत्यु भएको उपाध्यक्ष श्रीवास्तले जानकारी दिइन्।

नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाले झाडापखाला फैलिएको गाउँमै पुगेर बिरामीको उपचार सुरु गरेको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले बताए।

के कारणले झाडापखाला फैलियो पुष्टि भएको छैन। स्वास्थ्यकर्मीले गर्मी र दूषित पानीको कारण झाडापखाला फैलिएको आशंका गरेका छन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.