काठमाडौं, १४ कात्तिक । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बस्दै छ । आज अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नेछन् ।
बैठक प्रारम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । उनको सम्बोधनलगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।
महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै अभिलेख राख्नेछ । बैठकको तयारी अन्तिम चरणमा पुगिसकेको संसद् सचिवालयले जनाएको छ । बिहान १० बजेसम्म साजसज्जालगायत सबै तयारी सकिने सचिवालयले बताएको छ ।