Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८२, मंगलवार
ट्रेनडिंग

इजरायलमा उद्धारको पर्खाइमा छन् ३५० नेपाली

काठमाडौं, २४ असोज । इजरायलबाट स्वदेश फर्किन मंगलबार बेलुकासम्म ३५० जना नेपालीले आवेदन दिएका छन्। इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीको आवेदन लिइरहेको छ।

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँगको टेलिफोन वार्तामा स्वदेश फर्किन चाहने नेपालीको उद्धारकाे विषयमा कुराकानी गरेका थिए। साेहीअनुसार दूतावासमा स्वदेश फिर्ता हुन चाहने नेपालीले आवेदन दिएका हुन्।‍ टेलिफाेन संवादमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीको शव ल्याउनेबारे पनि छलफल भएकाे थियाे। यद्यपि छलफल भए पनि शव ल्याउन पनि केही दिन लाग्ने भएकाे छ।

इजरायली पक्षले केही प्रक्रिया पूरा गरेपछि मात्र शव फिर्ता हुने जनाएकाे छ। सरकारले इजरायलबाट नेपालीको उद्धारका लागि जहाज तयारी अवस्थामा राखे पनि उताबाट अवतरणको अनुमति प्राप्त भएकाे छैन। दूतावासले ‍इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका ५५ जना नेपाली विद्यार्थीहरूलाई इजरायली सुरक्षामा सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जनाएकाे छ।

सिमाना आसपासमा उद्धारकाे पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीहरूलाई पनि सुरक्षित ठाउँमा सारिएको छ। हमास समूहको आक्रमणबाट घाइते भएका चारजनाको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएकाे दूतावासले जनाएकाे छ। यस्तै, हराइरहेका एक जना नेपाली विद्यार्थीकाे खाेजीकार्य भइरहेकाे छ।

इजरायलवासी सम्पूर्ण नेपाली नागरिकरूलाई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न पनि दूतावासले अनुराेध गरेकाे छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.