वरिपरि हिमाल, बीचमा ताल । ताल पनि पूरै हिउँले ढपक्क ढाकेको । लाग्छ यो कुनै कुशल चित्रकारले कोरेको अब्बल चित्र हो । देख्ने जो कोहीलाई लाग्छ शायद धर्तीको स्वर्ग यही हो ।
तालसम्म पुग्न उकालो चढ्दा लागेको थियो कि कति गाह्रो, कति अप्ठेरो । जब तालको किनारमा पुगें उकालो चढ्दा उडेको अनुहारमा एकाएक अनुपम आनन्दको रंग भरियो । तालको डिलमा बसेर हेरिरहँदा एकपटक आफैलाई चिमोटुँ झैं भयो– यो सपना हो कि विपना !
पेशाले म स्वास्थ्य क्षेत्रसँग आवद्ध भए पनि वर्षमा दुईपटकसम्म काठमाडौं उपत्यका बाहिर निस्कने गर्छु । कोरोनाका गत वर्ष कारण निस्कन पाएको थिएन ।
यसपटक भने वैशाखको पहिलो हप्ता नै दोलखाको च्छो रोल्पा ताल पुगेर फर्किएँ । च्छो रोल्पा ताल जान धेरैपटक योजना बनाएँ । तर साइत नै जुरेन । यहाँ बसेर ताल र ताललाई वरिपरिबाट अँगालोमा बेरेर बसेका हिमालको दृश्य देख्दा लाग्यो यति सुन्दर रैछ र पो सितिमिति यहाँ हेर्न नजुरैको हो कि !